Contact Info

12/A, Mirnada City Tower, NYC 088889797697 support@mail.com Office Hours: 8AM - 5PM Sunday - Wekend Day
pmc_admin November 24, 2023 No Comments

पर्वत बहुमुखी क्याम्पस फलेवासको ऐतिहासिक पृष्ठभूमि

शिक्षा समाजको ज्योति हो । कुनै पनि देश र समाजको अर्थिक सामाजिक, राजनैतिक विकास गर्न शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । देशमा कृषि, उद्योग, व्यावसाय, विज्ञान र प्रविधि, स्वास्थ्य, यातायात जस्ता क्षेत्रहरुमा विकास गर्न विकासका अन्य साधन र स्रोत पर्याप्त उपल्ब्ध हुनुको साथै मानव संसाधनको विकास हुनु अत्यन्त जरुरी हुन्छ । सक्षम, दक्ष, चरित्रवान, योग्य, अनुशासित र परिश्रमी मानव संसाधनको विकास भएमा मात्र साधन र स्रोतको समुचित सदुपयोग गरी विभिन्न क्षेत्रमा अपेक्षित विकास गर्न सकिन्छ र देशले अन्र्तराष्ट्रिय जगत्मा तरक्की गर्न सक्दछ । मावन संसाधनको विकास गर्न देशको अवस्था र आवश्यकता अनुरुप उपयुक्त शिक्षा ग्रहण गर्नु पर्दछ । यसरी देश र समाजलाई विकासमा अग्रगति दिने काम त्यहाँको मानवीय संसाधनको सोच, व्यवहार र मेहनतले गर्दछ र मानव संसाधनको सर्वाङीर्ण विकास गराउने काम शिक्षाले गर्दछ । अतः शिक्षा समाजको सर्वाङीर्ण विकासको मुहान हो ।

संघीय गणतान्त्रिक नेपालको गण्डकी प्रदेश पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. ६, साविकको देवीस्थान गा.वि.स धवालागिरी अञ्चलको पहिलो सामुदायिक क्याम्पसको रुपमा पर्वत बहुमुखी क्याम्पसको २०४१ सालमा स्थापना भएको हो । यहाँका सर्वसाधरणको शिक्षाप्रतिको मोह र आफ्ना भावी सन्ततिलाई गाउँकै घरआँगनमा उच्च शिक्षा दिलाउनु पर्दछ भन्ने अभिष्टका साथ स्थानीय शिक्षानुरागी, समाजसेवी, वुद्धिजीवी, अभिभावक सवैको दृढ अठोट र अथक परिश्रमको फलस्वरुप यस क्याम्पसको जन्म भएको हो । २०४१ साल श्रावण ५ गते व्यवस्थापन तर्पm प्रवीणता प्रमाण प्रत्रतह  संचालन गर्न त्रि.वि.बाट सम्बन्धन प्राप्त भएको हो । पर्वत क्याम्पसको स्थापना धौलागिरी अञ्चलमा निजी स्तरमा पूर्णरुपले जनताद्धारा सञ्चालित पहिलो उदाहरणीय सफल प्रयास हो । त्यसपछि मात्र यस क्षेत्रमा जिल्ला सदरमुकाम जस्ता सुगम स्थान र अन्य ठाउँहरुमा क्याम्पस खोलिन थालियो । प्राकृतिक र जातीय विविधताले भरिपूर्ण जिल्लाको नाम पर्वत भए पनि फलेवासको फराकिलो सिंचित समथर भूभाग र समुद्री सतहबाट करिव १००० मिटर उचाईमा सदैव कलकल बगिरहने शालिग्राम कुँदने श्री कृष्ण गण्डकीको काखमा क्याम्पस रहेको छ । पर्वत क्याम्पसको स्थापनामा देवीस्थानका प्रत्येक घर कुरियाको सक्रिय योगदान रहेको छ ।

फलेवासमा उच्च शिक्षाको लागि क्याम्पस स्थापनाको सम्भावना, समाज र सम्मको माग र आवश्यकतालाई हेरी क्याम्पस स्थापनार्थ स्थानीय शिक्षा प्रेमीहरुको पहिलो आमभेला २०४० माघ महिनामा भएको थियो । त्यसपछिका दिनहरुमा पनि क्याम्पसका लागि आम सहमति र सामान्जस्य बनाउन धेरै भेला र वैठकहरु चल्दै गए । भिन्न भिन्न तह र तप्काका मानिसहरुको चासो, रुचि, सक्रियता र सहभागिता बढ्दै गयो । त्यो समयका धेरै भेला र वैठकहरु ७ कुरिया ओखलेचौरमा हुने गर्दथ्यो । २०४० साल सम्म फलेवास क्षेत्रभित्र खनजोत नगरीएका गौचरनको रुपमा रहेका क) कान्छी चौर ख) डडेँलाको पाखो ग) फेदीको चौर घ) ओखले चौर ङ) चाम्ले स्वाँरा च) माँझी गाउँ चौर छ) इन्द्रको चौर ज) धारापानी झ) कुँवापानी नामका फराकिला चौर र पाखाहरु थिए । यी चौरका जमिनका विषयलाई लिएर स्थानीय वासिन्दहरुका विचमा ठूलो मतभेद, विवाद र झगडा थियो । गाउँका केही व्यक्ति विशेषले यो जमिनलाई आफ्नो निजी स्वामित्वमा ल्याउँन चाहन्थे त अरु आम वासिन्दहरु सार्वजनिक सम्पत्ति र गौचरनको रुपमा संरक्षित राख्न चाहन्थे । वि.सं. २०२० सालदेखि विभिन्न तहको अदालतमा चौरको विषयलाई लिएर गाउँकै मानिरहरु वाधी प्रतिवाधी बनी लामो समय मुद्दा चलि नै रह्यो । अन्ततोेगत्वा २०३८ सालमा सर्वोच्च अदालतबाट गौचरन र सन्धि सर्पनको पक्षमा मुद्दाको पैmसाला आयो । सार्वजनिक सम्पत्तिको रुपमा रहने गरी अदालतको पैmसला भएतापनि चौरमाथिको अतिक्रमण रोकिएको थिएन । चौरहरुको छेउछाउ र मूलबाटका दायाँबाट स्थानीयहरुले सामाजिक एवं धार्मिक दृष्टिकोणले वनाईएका चौतारी, पोखरी र ठूलाठूला बर पिपलका रुखहरु थिएँ । फलेवास क्षेत्रभित्र विपुल प्राकृतिक सम्पदाको रुपमा रहेको तर स्थानीय वासिन्दाको वीचमा विवाद र वैमनश्यताको विषयवस्तु बनेको करिव ५०० रोपनी जमिनलाई आम समुदायको हितका लागि र आपसी वैमनश्यताको अन्त्य गर्न र उच्च शिक्षामा पर्वतको नाम अङ्कित गर्न उक्त जमिनलाई सदुपयोग गरेर एउटा क्याम्पस स्थापना गरी उच्च शिक्षाको दियो जलाउने काममा २०४० सालमा नै आम सहमति बनेको थियो । एउटै गाउँका गाउँले दाजुभाईवीच विखण्डन ल्याई झगडाको बीउ बनेका जमिनका टुक्राहरु समाजलाई आलोकित पार्ने र उच्च शिक्षा प्राप्त गर्ने सो विचारको परिणति पर्वत क्याम्पसको स्थापना हो । सम्पूर्ण फलेवासी जनताको वीचमा वैमनश्यता उत्पन्न गराएको विवादित चौरको मुद्दालाई तन, मन र धन लगाएर सन्धि सर्पन पक्षमा वर्षौ अदालती लडाई लड्ने सर्व श्री कोष प्रसाद रेग्मी, विजयराज शर्मा, जयपति कुँवर, जिमु देवी प्रसाद श्रेष्ठ, भीम प्रसाद रेग्मी, ह. पदम बहादुर श्रेष्ठ लगायतका सामाजिक योद्धाहरुको नाम स्मरणयोग्य छ ।

वि.सं. २०४७ सालमा नेपालमा जहाँनिया राण शासनको भएको राजनैतिक परिवर्तन र नेपालका दुर दराजका गाउँमा बस्ने रोजगारीका लागि भारतको विभिन्न शहर र खास गरी आसाम राज्यमा जाने यस क्षेत्रका नेपालीहरुलाई आफ्ना छोराछोरीलाई पढाउनु पर्छ भन्ने कुराले छोएको थियो । फलस्वरुप वि. सं. २०१० सालमा श्री भवानी विद्यापीठ प्राथामिक विद्यालय स्थापना भएको थियो । त्यसताका  विद्यालय सञ्चालन गर्ने कुरा ठूलो महत्व र सामाजिक प्रतिष्ठाको विषयवस्तु हुन्थ्यो । प्राथामिक विद्यालयको रुपमा स्थापित भवानी विद्यापीठ २०२० सालमा माध्यामिक तहको शिक्षा प्रदान गर्ने पर्वत जिल्लामा सर्वप्रथम खुलेको हाई स्कुल बन्यो । यसबाट पश्चिमाञ्चल क्षेत्रमै शैक्षिक जागरणको लहर आयो र फलेवास शैक्षिक थलोको रुपमा परिचित हुन पुग्यो । २०३६ सालको राजनैतिक आन्दोलन र जनमत सङग्रहपछि तत्कालीन पञ्चायती सरकारले शैक्षिक क्षेत्रमा अपनाएको उदार नीति अनुरुप निजी र सामुदायिक स्तरमा पनि स्वीकृति लिएर उच्च शैक्षिक प्रतिष्ठानहरु खोल्न सञ्चालन गर्न पाइने भयो । उच्च शिक्षामा आफ्ना सन्ततिको भविष्य देख्ने अभिभावकहरु, शिक्षाविद्, समाजसेवी जुटेर देशका विभिन्न ठाउँमा खास गरेर नगर क्षेत्रमा धमाधम क्याम्पस खोलेको सुसमाचार आउन थाल्यो । २०४० सम्मको पञ्चायतकालीन समयमा फलेवास वरपर र छिमेकी जिल्ला बाग्लुङ्गका गाउँविकास समितिहरुमा माध्यमिक विद्यालयहरु सञ्चालनमा आईसकेका थिए । माध्यमिक तहभन्दा माथिको शिक्षा प्राप्त गर्न भने जिल्ला बाहिर नै जानुपर्ने बाध्यता थियो । त्यस वेला अहिले जस्तो यातायात र सञ्चारको सुविधा थिएन गाउँका २,४ वटा सम्पन्न घरका विशेषगरी छोराहरु काठमाण्डौँ पोखरा पढ्न जान्थे । छोरीबुहारीको पढाईलेखाइ विद्यालय स्तरमै सिमित थियो ।

क्याम्पस प्रशासनमा सुरक्षित पुराना माइनट र अन्य कागजातहरु हेर्दा फलेवासमा क्याम्पस स्थापनाको अभियान २०४० साल माघ ४ गते श्री गणेश भएको कुरा देवीस्थान गा.वि.स.का तत्कालीन गाउँ पञ्चायतका प्रधानपञ्च श्री कुल प्रसाद प्रधानको अध्यक्षतामा वसेको क्याम्पस आयोजक सभामा ६÷७ गा.वि.स.का २५० भद्रभलाद्मीको  उपस्थिति र दस्तखतको दस्तावेजले प्रमाणित गर्दछ । क्याम्पस आयोजक सभाको पटक पटक बसेको वैठकको उपस्थिति र निर्णयहरु हेर्दा त्यसताका यस भेगका महत्वपूर्ण सामाजिक, राजनैतिक र शिक्षा प्रेमी व्यक्तित्व आमन्त्रण गरी ठूलो जनसहभागिता जुटाई क्याम्पस स्थापनाको महायज्ञमा लागेको देखिन्छ । यस प्रसङ्गमा क्याम्पस स्थापना कालका श्री यज्ञ प्रसाद लम्साल, कुल प्रसाद प्रधान, दुर्गादत्त लम्साल, हरि प्रसाद श्रेष्ठ, नल प्रसाद भुसाल, भीम प्रसाद रेग्मी र कुर्घाका लीलाधर पौडेल, विहादीका विकास गौचन आदिको नेतृत्वदायी भूमिका तथा योगदानलाई भुल्न सकिँदैन । क्याम्पस स्थापनार्थ स्थानीय स्वर्गीय भीम बहादुर श्रेष्ठका छोरा हेट कुमार श्रेष्ठ, राम प्रसाद श्रेष्ठ समेतका ६ भाई साथै लिमिठाना निवासी स्वर्गीय छत्रराज पाण्डेय गुरुघरानाकी धर्मपत्नी तीर्थ कुमारी पाण्डेय समेतले निःशुल्क करिव १० रोपनी जग्गा हाल क्याम्पसको हाता रहेको उपलब्ध गराई अमुल्य काम गर्नु भएको छ । संस्था स्थापनाकालको चन्दा संकलन अभियान क्रममा देवीस्थान चौवीस कुरिया निवासी श्री लक्ष्मी दत्त पाध्याले रु. ५०००।– प्रदान गरी प्रथम चन्दादाता र कुर्घा निवासी रत्नकान्त पाध्याले रु. २१,००५।– सहयोग प्रदान गर्दै त्यसताकाको सवैभन्दा ठूलो रकमको दानवीर बन्नुभएको थियो ।

२०४० साल माघ ८ गते स्थानीय प्रधान पञ्चकै  अध्यक्षतामा आर्थिक संकलन समिति बनेको र यस समितिले विभिन्न वैठकमा ९ कित्ता सार्वजनिक चौर क्याम्पसको लागि आर्थिक संकलन गर्न विक्री गर्ने वा क्याम्पसको नाममा दर्ता गर्ने भनी निर्णय गरेको देखिन्छ ।  यस मध्ये ६ कित्ता चौर मात्र कान्छी चौर डडेँलाको पाखो, ओखले चौर, फेदी चौर, ………….. क्याम्पसमा उपयोग भएको छ । त्यस्तै खानीगाउँ गा.वि.स. अन्र्तगतका ५ कित्ता सार्वजनिक चौर क्याम्पसमा आर्थिक श्रोत जुटाउन उपयोग गर्ने भनिएकोमा त्यस वेलाको खानीगाऊँ वडा नं. ३ मा रहेको राहुल चौरको ५५ रोपनी मात्र क्याम्पसलाई प्राप्त भयो ।

समाजमा गरीने कुनै पनि नयाँ कामको थालनीमा सामाजिक नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । हाम्रो जस्तो आर्थिक विपन्नता रहेको त्यसवेलाको समाजमा ग्रामिण क्षेत्रमा उच्च शिक्षाको संस्था–क्याम्पसको स्थापना गर्नु ज्यादै कठिन र चुनौतीपूर्ण कार्य थियो । पढेलेखेका जानीफकारहरुको अभाव थियो । स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्ति हातका औँलामा गन्न सकिन्थ्यो । तर पनि आफ्ना भावी सन्ततिहरुको लागि उच्च शिक्षाको उज्यालो गाउँघरकै आँगनमा क्याम्पस सञ्चालन गरेर ल्याउनपर्दछ भन्ने कुराले त्यस वेलाका साक्षर तर उपल्लो कक्षा पढ्न नपाएका सचेत अभिभावकलाई क्याम्पस खोल्न अभिप्रेरित गरीरेहेको थियो । त्यसताका क्याम्पसको स्वीकृति लिन÷विश्व विद्यालयको सम्बन्धन प्राप्त गर्न न्यूनतम छ लाख पचास हजार रुपैँया वैङ्क डिपोजिट गर्नु पर्दथ्यो । २०४१ साल तिर यो रकम ज्यादै मोटो मानिन्थ्यो । अञ्चलको अञ्चलाधिश पदेन क्याम्पस सञ्चालन समितिको अध्यक्ष हुने व्यवस्था थियो । सरकारी तवरबाटै क्याम्पसमा भएका हरेक गतिविधीको सुक्ष्म निगरानी गरीन्थ्यो । पञ्चायत व्यवस्था विरोधी वा गैह्र शैक्षिक क्रियाकलाप गर्न पूर्णतया निषेध थियो ।

क्याम्पसमा रहेको पुरानो माइन्ट बुक हेर्दा वि. सं. २०४० फाल्गुन १६ गते धौलागिरी अञ्चल सदरमुकाम वाग्लङ्ग अञ्चलाधीश कार्यालयमा तत्कालीन अञ्चलाधीश ऋतुवर्ण तुम्बाहाङफेको उपस्थितिमा यस भेगका पञ्च, वुद्धिजीवि, समाजसेवी, शिक्षाप्रेमीको एक भेला गरी पर्वत कमर्स क्याम्पस खोल्न निम्नानुसारको सहयोग समिति गठन गरीएको थियो।

१. अध्यक्षः श्री ऋतुवर्ण तुम्वाहाम्फे तात्कालीन धवलागिरी अञ्चलाधीश

२. उपाध्यक्ष ः श्री यज्ञ प्रसाद लम्साल

३. सचिव ः श्री विजयराज शर्मा

४. सह–सचिव ः पं. श्री लीलाधर पौडेल

५. कोषध्यक्ष प्रधान पञ्च श्री कुल प्रसाद प्रधान (देवीस्थान)

६. सदस्य प्रधान पञ्च श्री दुर्गादत्त लम्साल (खानीगाऊँ)

७. सदस्य टोप प्रसाद रेग्मी

८. सदस्य श्री चेत प्रसाद पन्त जि पं उपसभापति

९. सदस्य श्री विकास गौचन  जि पं स

१०. सदस्य श्री नल प्रसाद भुसाल प्र.पं. (शंकरपोखरी)

११. श्री हरि प्रसाद श्रेष्ठ

१२. श्री भीम प्रसाद रेग्मी

१३. श्री नल प्रसाद भुसाल (गा.पं. स देवीस्थान)

१४. श्री लीला वल्लभ शर्मा (गा.पं.स)

१५. श्री हिमलाल भुसाल (उप प्र.पं)

१६. श्री ह. पदम बहादुर श्रेष्ठ

१७. श्री कमल प्रसाद भुसाल

१८. श्री तिल प्रसाद शर्मा

१९. श्री विष्णु कुमार श्रेष्ठ

२०. श्री ईश्वरी शमा

२१. त्रि. वि प्रतिनिधी श्री टीकाराम वास्तोला  क्या.प.्र महेन्द्र क्याम्पस वाग्लुङ्ग

पछि गएर यही समिति क्याम्पस सञ्चालक समितिमा परिणत भयो । २०४१ सालमा वाणिज्य तर्पm प्रवीणता प्रमाण पत्र तह सञ्चालन गर्ने सम्बन्धन पाएको क्याम्पसले विद्यार्थीको चाप र माग हेरी २०४२ सालमा मानविकी र समाज शास्त्र विषयको थप स्वीकृति प्राप्त ग¥यो । सुरुको वर्षमा १४० जना विद्यार्थीले प्र.प्रतह प्रथम वर्षमा नाम दर्ता गराए जसमध्ये १५ जना छात्रा र १२५ जना छात्र थिए । २ सेक्सन÷समुहमा बाँडेर कक्षा चलाइन्थ्यो । ४ जना मात्र प्राध्यापक थिए– जगनाथ प्रसाद लम्साल, शिव कुमार श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ र राजेन्द्र प्रसाद तिवारी । २०४१ साल असोजमा महेन्द्र क्याम्पस वाग्लुङ्गमा प्राध्यापनरत पर्वत खानीगाउँ निवासी श्री जगनाथ प्रसाद लम्साललाई काजमा ल्याई क्याम्पस प्रमुखको रुपमा नियुक्ति दिइयो । सुरुका कक्षाहरु केही महिना देवीका मन्दिर प्राङ्गणमा र सँगैको वरको बोटमुनी चौतारीमा सञ्चालन भए । आँसज जमाएर गुन्द्रीमा बसी विहान १०ः३०–३ः०० वजेसम्म कक्षा चल्दथ्यो । सुरुमा बनेको यस समितिले २०४८ सालसम्म क्याम्पस व्यवस्थापन र सञ्चालनको काम ग¥यो । क्याम्पस रहेको स्थान चाम्लेस्वाँरा देवीस्थान गा.वि.स. वार्ड नं. ५ को जमीन प्राप्त गर्ने, हालसम्म प्रयोग भईरहेको बाह्रकोठे भवन निर्माणको काम यही समितिको सक्रियतामा सम्पन्न भयो । क्याम्पस सुव्यवस्थित किसिमले सञ्चालनका गर्नका लागि आवश्यक पर्ने निर्णयहरु, प्राध्यापक नियुक्ति, पुस्तकालयको स्थापना, फर्निचर निर्माण, पर्खाल निर्माण क्याम्पस सञ्चालनको लागि अक्षयकोषको स्थापना जस्ता महत्वपूर्ण पूर्वाधारका कार्यहरु यही समितिले थालनी ग¥यो । गाउँमा शैक्षिक चेतना आएपनि माध्यमिक तहको पढाई एस.एल.सी सम्म अध्ययन गर्ने हाईस्कुल थिए । प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि विश्वविद्यालय अन्र्तगत उच्च शिक्षा हासिल गर्न ठूलो धनराशी खर्च गरेर पोखरा काठमाण्डाँै जानुपर्ने बाध्यतालाई अन्त्य गर्न क्याम्पस निर्माणमा ठूलो जनसहभागिता जुटेको हो ।

क्याम्पसको अभिलेख अनुसार वि.सं २०४८ साल चैत्र १२ गते श्री कोष प्रसाद रेग्मीको अध्यक्षतमा नयाँ सञ्चालक समिति गठन भएको देखिन्छ । यस समितिमा १९ जना सदस्य रहेको र २०४९ श्रावण सम्म मात्र काम गरेको देखिन्छ । २०४९ भाद्र २ गतेबाट कुल प्रसाद प्रधानको नेतृत्वमा १४ सदस्य समिति गठन गरी करिव २ वर्ष सामान्य बाधाअड्चनका काम फुकाई क्याम्पस सञ्चालन गरीएको रहेछ । यस अवधिमा क्याम्पसमा कुनै उल्लेखनीय काम भएनन् ।

क्याम्पसको शैक्षिक स्तर तथा तह अभिवृद्धि गर्ने क्रममा २०५१ सालमा मानविकी र व्यवस्थापन संकाय तर्पm स्नातक तहका कक्षाहरु त्रि. वि.बाट सम्बन्धन प्राप्त गरी विहानीसत्रमा सञ्चालन गरीयो । २०६४ सालमा शिक्षा शास्त्र संकाय तर्पm स्नातक तहको स्वीकृति प्राप्त गरी वि.एडका कक्षाहरु सञ्चालन भयो । त्रि.विबाट प्र.प्रतह फेज आउट भई सकेर उच्च माध्यामिक शिक्षा परिषद अन्र्तगत १०+२ शिक्षा प्रणाली लागू भई सकेकोले १०+२ को कक्षा विद्यालय अन्र्तगत आयो र २०६८ साल देखि क्याम्पसमा सञ्चालित ११÷१२ कक्षा क्याम्पस सँगै जोडिएको जनता मा.वि.मा स्थानान्तरण गरीयो । स्नातक तहका कक्षाहरु सञ्चालन गर्न (४ वर्षे कोर्ष) प्राध्यापकहरुको संख्यामा वृद्धि भयो । सवै प्राध्यापक पूर्णकालीन थिए । कर्मचारी पनि बढाइयो यसबाट क्याम्पसको व्ययभार वृद्धि हुँदै गयो । तर क्याम्पसको आम्दानी र विद्यार्थीको संख्या उल्लेख्य रुपमा बढ्न सकेन आम्दानीको तुलनामा खर्च दोब्बरले बढी भएको कारण क्याम्पसको अक्षय कोषमा रहेको रकम समेत प्राध्यापक कर्मचारीलाई तलव खुवाउन प्रयोग भएको र पछि सोधभर्ना नहुदा अक्षय कोष समेत रित्तिएको हो ।

२०५१ साल वैशाखमा स्थानीय वुद्धिजीवी डिल्लीराज शर्माको अध्यक्षतामा १९ सदस्य सञ्चालक समिति गठन भयो । क्याम्पसको खस्कदो आर्थिक अवस्था केही हदसम्म यस समितिको सक्रियताम सुधार गर्न खोजेको देखिन्छ । छिमेकी गा.वि.स.मा चन्दा सहयोग संकलन कार्यक्रम अगाडि बढाएको कुरा क्याम्पसको दस्तावेजबाट पुष्टि हुन्छ । पुस्ताकालय सञ्चालनका लगि २ कोठाको भवन समेत निर्माण भयो । तर विभिन्न दलमा विभाजित समितिका सदस्यहरुको दलीय मानसिकता र व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसकेको कारण समितिका पछिल्ला वर्षहरु सहमति र समन्वयको अभावले प्रभावकारी हुन सकेनन् । २०५३ सालको पौष १५ गते पूर्व अध्यक्ष यज्ञ प्रसाद लम्सालको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरी कार्य सञ्चालन गरीएको थियो । ठूलो आकारको समितिको कारण कोरम पु¥याँइ वैठक वस्न नसक्नु, क्याम्पस प्रशासन र समिति वीच समझदारी नबन्दा समस्या थपियो र समिति निष्प्रभावी बन्यो । यस समितिले आफ्नो कार्यकाल पूरा नगरी २०५५ चैत्रमा मुडिकुवा निवासी श्री कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा २० सदस्यीय नयाँ समिति गठन भयो । खानीगाऊँ गा.वि.सको वडा नं. ३ मा रहेको राहुल चौरको जग्गा दर्ता गरी क्याम्पसको नाममा ५५ रोपनीको जग्गा धनी प्रमाणपूर्जा प्राप्त भयो । देशमा चलिरहेको माओवादी जनयुद्धको कारण भय र त्रासको वातावरण, सरकारी सेना र प्रशासनको दमनबाट युवाहरु गाऊबाट पलायन भईरहेको अवस्थाले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै गईरहेको थियो । क्याम्पसमा विद्यार्थीको न्यून उपस्थिति, नाजुक आर्थिक अवस्था, बढ्दो सञ्चालन खर्चका कारण आर्थिक संकट गहिरिदै गयो । क्याम्पसको वित्तीय संकटलाई मध्ये नजर गर्दै केही आर्थिक कोष जुटाउन स्थानीय वुद्धिजीवी  श्री चिरञ्जीवी पौडेलको संयोजकत्वमा २०६० साल वैशाखमा पं. नारायण प्रसाद पोखरेल प्रमुख कथा वाचक राखी धान्याञ्चल महायज्ञको आयोजना गरीयो । महायज्ञमा संकलित रकम (खर्च कटार्ई वचत भएको) करिव रु २३ लाख लगानी समितिमार्पmत लगानी गरी प्राप्त व्याजले क्याम्पस सञ्चालनको आर्थिक संकटको बोझ केही हदसम्म कम भयो ।

प्राथमिक तथा आधारभूत शिक्षाले मानिसलाई साक्षर बनाउछ । कुनै क्षेत्रमा विशिष्ट ज्ञान, दक्षता र योग्यता प्राप्त गर्न एवं मानिसको व्यक्तित्वको विकास गरी सक्षम स्वावलम्वी व्यक्ति बनाउन उच्च शिक्षा र दीक्षाको आवश्यकता पर्दछ । जीवन र जगतका लागि शिक्षाको आवश्यकता र महत्व बुझेका स्थानीय शिक्षा प्रेमी फलेवासी जनताको अथक प्रयासको परिणम हो पर्वत क्याम्पस । त्यसैले त स्थानीय वासिन्दाहरुको भावनात्मक सम्बन्ध जोडिएको छ क्याम्पससँग । क्याम्पस आफैमा ज्ञानको अमूल्य निधि त हुँदै हो त्यसमाथि जिल्लाकै जेठो संस्था भएकोले गौरव मानेर प्रतिष्ठाको रुपमा लिइन्छ ।

२०६४ साल असारमा स्थानीय अवकाश प्राप्त शिक्षक डिल्लीराम शर्माको नेतृत्वमा नयाँ समिति गठन भयो । समिति नयाँ बनेपनि संस्थाको समस्या यथावत रहेको हुँदा न्यून  आयको कारण धान्याञ्चल महायज्ञबाट संकलित रकम अक्षय कोषमा ६÷७ वर्ष भन्दा बढी रहन पाएन । शाही संकटकालको शासनकालमा द्धन्द्धपीडित संस्था भएको कारण राहत स्वरुप नेपाल सरकारबाट पटक पटक गरी २०६५÷६६ सालमा प्राप्त रु २० लाखले क्याम्पस सञ्चालनमा परेका आर्थिक संकटको खाडललाई पुर्ने काम ग¥यो । २०६७ साल असारमा नेपाल सरकारको शिक्षा विभागमा लामो समय काम गरी अनुभव बटुलेका सेवा निवृत कर्मचारी श्री हर्क प्रसाद श्रेष्ठको अध्यक्षतामा समिति बनाई जनताले क्याम्पसको जिम्मा लगाए। शैक्षिक क्षेत्रमा लामो अनुभव बनाएका शिक्षाविद्बाट संस्थाले अग्रगति पाउने छ भन्ने ठूलो आशा गरीएको थियो तर सामान्य सञ्चालन बाहेक अपेक्षित उपलब्धि हुन सकेन ।

पर्वत क्याम्पसलाई संस्थागत रुपमा मजबुत बनाउन र दीर्घ जीवनको खोजी गर्न नयाँ नेतृत्वमा सञ्चालक समिति बन्ने क्रममा २०७० साल चैत्र महिनामा शिक्षण पेशामा लामो अनुभव प्राप्त विद्यालय सेवाबाट सेवा निवृत शिक्षक तथा स्थानीय वुद्धिजीवी श्री चिरञ्जीवी पौडेलले क्याम्पस व्यवस्थापन समितिको नेतृत्व लिनुभयो । सदरमुकाम र शहरी क्षेत्रमा अवसरको खोजीमा युवा÷नयाँ पुस्ताको आर्कषण र गाँउबाट पलायनको कारण विद्यार्थी भर्नामा ठूलो गिरावट आयो । तुलनात्मक र समयसापेक्ष शुल्क वृद्धि गर्न नसक्नु र क्याम्पस सञ्चालनको मितव्यायी उपाय पहिचान र अवलम्बन गर्न सक्नु जस्ता कारणले आर्थिक समस्याको खाडल गहिरिदैँ गएको थियो । स्थापनाको २५ औँ वर्षगाँठमा मनाइने रजत जयन्ती क्याम्पसले पनि मनाउने कुरा अघिल्लो र यो समितिको पटकपटक वैठकका छलफलको एजेण्डा बनेको छ । २०७१ माघमा यसै समितिका वरिष्ठ सदस्यीय एवं स्थानीय समाजसेवी श्री भूवानी प्रसाद श्रेष्ठलाई सर्वसम्मत संयोजक चयन गरी पर्वत क्याम्पस रजत जयन्ती समारोह समिति बन्यो । रजत जयन्ती समितिले गरेको अथक परिश्रम र प्रयासले धेरैको साथ र सहयोग जुटायो । क्याम्पसको नाममा लगभग  २ करोड ५० लाख चन्दा सहयोग लेखाउने काम भयो । २०७३ बैशाख २९, ३० र जेठ १ गते ३ दिन भव्य रुपमा पर्वत क्याम्पसको रजत जयन्ती समारोह मनाउने काम भयो । रजत महोत्सवमा संकलित करिव १ करोड ५० लाख चन्दा सहयोगको रकमले आर्थिक रुपले जर्जर अवस्थामा पुगेको क्याम्पसलाई ठूलो राहत हुन पुग्यो । यो रकमको एउटा हिस्सा २० वर्ष र सो भन्दा बढी सेवा अवधि पुगेका प्राध्यापक कर्मचारीलाई अवकाश दिई नियमानुसार उपदान रकम भुक्तानी दिन खर्च भयो । रजत महोत्सवमा चन्दादाताले लेखाउनु भएको रकम अझ पनि संकलन हुने क्रममा छ ।

२०७५ साल असारमा काठमान्डौँ म.न.पाका कार्यरत वातावरण विभाग प्रमुख श्री हरि कुमार श्रेष्ठको नेतृत्वमा बनेको वर्तमान समितिलाई क्याम्पस सञ्चालनको अभिभारा आम सहमतिमा सुम्पिएको छ । देशको राजधानीको केन्द्रविन्दुमा बसेर स्थानीय तहमा प्रशासनिक संयन्त्रमा लामो समय काम गरी उच्च एवं फराकिलो सम्र्पक बनाउनु भएका युवा वुद्धिजीवीको गतिशील नेतृत्वबाट संस्थाले लाभ लिने र क्याम्पसको भविष्य उज्यालो छ भन्ने कुरामा फलेवासी जनता ढुक्क छन् । वर्तमान समितिको सक्रियताकै कारण  विश्वविद्यालय अनुदान आयोगबाट आ.व. २०७७÷७८ बजेटबाट क्याम्पसको नयाँ सुविधा सम्पन्न शैक्षिक भवन बनाउनको लागि रु ५० लाख स्वीकृत भएकोमा २५ लाख प्राप्त भई १२ कोठे भवन निर्माणधीन छ । नेपाल सरकार अर्थ मन्त्रालयबाट भवन निर्माणमा आ.व २०७७÷०७८ मा क्याम्पसलाई निकासा दिएको रु. ५० लाख फलेवास नगरपालिका मार्पmत प्राप्त भई भवन निर्माणको काम अगाडि बढेको छ । फलेवास नगरपालिकाले सुरुवाती चरण देखनै पर्वत क्याम्पसलाई उच्च शिक्षाको शैक्षिक धरोहरको रुपमा लिएको र वर्षेनी १०÷१२ लाख अनुदान सहयोग दिँदै आएकोमा २०७७÷७८ देखि क्याम्पसलाई २ वटा प्राध्यापकको स्थायी दरवन्दी बराबरको तलव अनुदान दिने निर्णयले थप राहत प्राप्त भएको छ । क्याम्पसक सञ्चालकको ४ दशक पुग्ने क्रममा भए पनि अहिले सम्म स्थायी अक्षय कोष खडा गर्न सकिएको थिएन । अगाडिका समितिबाट प्रयास भएपनि अक्षय कोषको योजनाले मुर्त रुप लिन सकेन । वर्तमान समिति स्थायी अक्षय कोष खडा गर्न रकम जुटाउने प्रक्रियामा लागेको र कोष सञ्चालन विधानको मस्यौदा तयार हुँदै गरेकोले आशावादी हुन सकिन्छ । फ.न. पा ५ खानीगाऊँ झकलक स्थित क्याम्पसको स्वामित्वमा रहेको ५५ रोपनी जमीनलाई व्यवसायिक र उत्पादनमूलक ढंगले उपयोग गर्न सके थप आम्दानी बढाउन सकिने कुरा निश्चित छ ।

शिक्षा अनन्त खोज, अनुसन्धान, अनुभव र जीवनभरि चल्ने प्रक्रिया हो । महाविद्यालय वा कलेज, विश्वविद्यालय औपचारिक रुपमा शैक्षिक उपाधि र स्तर प्राप्त गर्ने शैक्षिक प्रतिष्ठान हुन् । यसको लागि चाहिने विशिष्ट ज्ञान प्राप्त भएका प्राध्यापक, शैक्षिक औजार, उपकरण, भवन, फर्निचर आदि एउटै स्थानमा उपलब्ध हुन्छन् । प्रवेशिका परीक्षा र हाल आएर उच्च माध्यमिक शिक्षा उत्तीर्ण भएपछि विद्यार्थी उच्च शिक्षाको फराकिलो राजमार्गमा बिश्वविद्यालयमा प्रवेश गर्दछन् । विद्यार्थीले पाठ्यक्रमका सीमित विषयवस्तु बाहेक देश विदेशका आर्थिक, सामाजिक, राजनैतिक अवस्था र घटनाक्रमको जानकारी राखी कार्य क्षेत्रमा उत्रिएर सामाजिक जीवनका विभिन्न क्षेत्रको नेतृत्व लिन आफूलाई तयार वनाउनु पर्दछ । उमेरको दृष्टिकोणले स्नातक तहमा प्रवेश गर्ने विद्यार्थी परिपक्व हुन्छन् र उच्चशिक्षाले नै उनीहरुको जीवनको प्रत्येक क्षेत्रको विकास र उन्नतिको वाटो खोलिदिन्छ । उच्च शिक्षाको प्रत्येक तहमा गुणात्मक शिक्षा र स्तरको लागि भौतिक साधनको उपलब्धता, शान्ति र शैक्षिक वातावरण र विद्यार्थीको आफ्नै चाख, चासो, मेहनत र लगनशीलताको पनि नितान्त खाँचो पर्दछ । जहाँसम्म उच्च शिक्षाको प्रभावकारिताको सवाल छ, शिक्षा मूल्यनिष्ठ, जीवनपयोगी, सिर्जनशील र व्यबहारिक जीवनको क्षेत्रमा उत्रिएर काम गर्दा आफुले पाएको ज्ञान र सीप समाजोपयोगी बनाइ औजारको रुपमा कुशलतापूर्वक प्रयोग गर्नसक्नु पर्दछ । समुदाय र समाजले उच्च शिक्षा प्राप्त गरेका व्यक्तिबाट नयाँपन, मर्यादित, उच्च र सभ्य ब्यबहारको पनि अपेक्षा गरेका हुन्छन् । उच्च शिक्षाको गुणात्मकता र प्रभावकारितालाई समाज र समुदायले इमान्दारिता, अनुशासन र सभ्य ब्यवहारको कसीमा मूल्याङ्कन गर्दछन्। उला जनसङख्या र जनचेतनामा भएको बृद्धि, उच्च शिक्षा प्रतिको मोहको कारण विद्यार्थीहरुको सङख्यामा बृद्धि हुनु स्वभाविक छ । एकजना विद्यार्थी थपिदा एउटा सिट वा कुर्ची मात्र थपेर हुँदैन । विद्यार्थीको वृद्धि हेरी समानुपातिक रुपले शिक्षक, कक्षाकोठा, पूस्तक, फर्निचर लगायतका भौतिक सुविधाहरु पनि थप्नु पर्दछ । भौतिक सुविधा पर्याप्त भएमा शैक्षिक संस्था, शिक्षक र विद्यर्थी वीचको सम्वन्ध र निकटता बढ्दै जान्छ । अवाञ्छित गतिविधि र राजनीतिले पनि प्रश्रय पाउँदैन । अप्राज्ञिक क्रियाकलाप, अवाञ्छित राजनीति र असभ्य ब्यवहार विद्यालय, महाविद्यालयको संस्थागत विकासको लागि खतरा पूर्ण हुन जान्छ भने विद्यार्थीको प्राज्ञिक समुन्नति र ब्यक्तित्व विकासका लागि पनि अवरोध र घातक हुन जान्छ । यस प्रति समाज, समुदाय, राजनीतिज्ञ, अभिभावक सचेत हुनु पर्दछ । प्रत्येक विद्यार्थीमा आफूले पढ्ने संस्था वा क्याम्पस प्रति आफ्नोपनको भावना जाग्नु वा जगाउनु पर्दछ । प्रत्येक वावु–आमा वा अभिभावकका आफ्ना छोरा–छोरीको शिक्षाको लागि वा शैक्षिक सामाजिक सेवाको लागि

खर्च गर्ने क्षमता र तत्परताको पनि उत्तिकै खाँचो पर्दछ । प्रत्येक विद्यार्थी र शिक्षकले समय र साधनको भरपूर उपयोग गर्नु पर्दछ, शैक्षिक प्रगति र विकासको लागि जस्तो कि हाल उपलब्ध टि.भी, रेडियो, मोवाइल र अन्य विद्युतीय इलेक्ट्रोनिक साधनलाई मनोञ्जन र सञ्चारको लागि वढी र शैक्षिक बिकासको लागि कम प्रयोग गरेको देखिन्छ । क्याम्पसको भौतिक साधन शिक्षकलाई प्रदान गरीएको सुविधाले पनि पठनपाठन स्तर र काम प्रतिको उत्प्रेरणालाई प्रभावित पार्ने हुँदा समुदाय र क्याम्पस सञ्चालक समिति पर्याप्त स्रोत जुटाउने तर्फ लाग्नु पर्दछ किनभने गुणस्तरीय त्यसै प्राप्त हुने वस्तु होइन केही लगाब हुनु पर्दछ केही लगानी हुनु पर्दछ । यो शाश्वत नियम हो ।

जति वर्ष वित्दै जान्छ, क्यम्पस पनि पुरानो हुँदै जान्छ अनि रजत, स्वर्ण, हीरक जयन्तिको पर्वहरु आउँछन् । शिक्षक–कर्मचारीहरु पनि अनुभवी हुँदै जान्छन् । अनुभवी र पाको ब्यक्ति संस्थामा हुनु सुखद पक्ष हो र संस्थामा समय सीमाले पुराना ब्यक्ति बाहिरिनु र नयाँ ब्यक्ति आउनु एउटा नित्य निरन्तर चल्ने प्रक्रिया नै हो । गतिशील समय र ज्ञानविज्ञानको क्षेत्रमा भएको नित्य नयाँ खोजले सिक्नु जान्नु पर्ने कुरा ज्यादै फराकिला भएका छन् । पुराना शिक्षक वा विद्यार्थीहरुका हिजो सिकेका ज्ञान र अभ्यास अव्यावहारिक भई समय सापेक्ष नहुन सक्छन् । वर्तमान समयमा विद्यार्थीहरुलाई समसामयिक मान्यता अनुसार ज्ञानलाई अध्यावधिक गर्ने अभिभारा लिएको शिक्षकको आफ्नै ज्ञान सीप पुरानो रहन्छ भने यो स्थिति घातक रहन्छ । त्यसैले शिक्षकले वर्तमान र बिकसित ज्ञानसँग परिचित मात्र नभई आफ्नो दिल र दिमागमा भएको ज्ञानलाई फराकिलो र अध्यावधिक बनाइ रहनु पर्दछ । यस कुरालाई जर्ज बनाई शा ले ीषभ बलम भिबचलष्लन मा भने जस्तै आफ्नो ज्ञानलाई खार्दै लैजानु पर्दछ । पुरानो अनुभव, परिपक्वता र नयाँ ज्ञान र सीपको फ्युजन गराउनु पर्दछ ।

वि.सं.२०४१ सालमा बनेका भौतिक संरचनाले अहिलेको २१औं शताब्दीको डिजिटल युगको खरो प्रतिस्पर्धामा बी.बी.एस. बी.ए. र बी.एड. जस्ता फ्याकल्टी चलाउन फलामका चिउरा चपाउनु जस्तै भएको छ । राजनैतिक वृत्तवाट यस क्याम्पसलाई पटक पटक आ–आफ्नो दलको प्रचार अखडा बनाउन पाए ठीक नत्र वेठीक भन्ने जस्ता दलगत प्रहार पनि भोगेको र बेहोरेको विषय हो । अहिले जे जस्तो शैक्षिक, भौतिक, प्रशासनिक, सांस्कृतिक, नैतिक र सामाजिक रुप संस्थाको छ, त्यो देशकाल परिस्थिति अनुसार सन्तोषकै विषय एकातिर छ भने अर्कोतिर यस संस्थालाई डिग्री कलेजका रुपमा रुपान्तरण गर्न आर्थिक सञ्चय गरी प्रभावकारी प्रशासनिक, शैक्षिक नेतृत्व दिएर पर्वत जिल्लाकै ज्ञानकै भण्डार बनाउन सम्पूर्ण राजनैतिक दल, नागरीक समाज, बुद्धिजीवी, कलाकार, पेशागत सञ्जाल, ब्यपारी, किसान, मजदुर, महिला, दलित सम्पूर्ण जनसमुदाय एक ढिक्का बनी राजनीतिवाट माथि उठेर योगदान गर्नु पर्ने वेला आएको छ । अतः सबैको मनमा सुविचारको वास गरी यस क्याम्पसको गरीमालाई माथि उठाउन कम्मर कसेर लाग्नुनै हामी फलेवासी जनसमुदायको कर्तव्य हो, समयको माग पनि यही हो ।

अन्त्यमा ३८ औँ वर्ष प्रवेश गरेको पर्वत बहुमुखी क्याम्पसको उन्नयनमा माथि उल्लेखित सुनाम मात्र होइन धेरै कर्म बीरहरुको नाम गुमनाममा परिरहेछ । क्याम्पसको जग बसाल्ने ती सम्पुर्ण अग्रजहरु यलोक वा प्रलोक जहाँ हुनुहुन्छ उहाँहरु प्रति नमन तथा सादर बन्दना ती अग्रजहरुले अभिभाराहरु धेरै छन् । क्याम्पसको दीर्घ जीवनको लागि प्राज्ञिक उन्नयनका लागि धेरै कामहरु गर्न बाँकी नै छ । यो सानो लेखले यसको ऋण चुक्ता हुन सक्दैन ।

-लेखक

श्री शिव कुमार श्रेष्ठ

पूर्व क्याम्पस प्रमुख 

Leave a Reply

Your email address will not be published. Required fields are marked *